पिएम कप क्रिकेट : तेस्रो जितसंगै कञ्चनपुर शिर्ष स्थानमा, अछाम बाहिरियो

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा कञ्चनपुरले लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित दर्ता गर्ने क्रममा कञ्चनपुरले बुधबार अछामलाई ६ विकेटले हरायो।

जितका लागि पाएको ९० रनको सामान्य लक्ष्य कञ्चनपुरले १७।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जसमा किरन ठगुन्नाले ३१ र प्रकाश पाण्डेले अविजित २५ रनको योगदान गरे। अछामका रोहित खड्काले २, युवराज खत्री र अभिषेक चौधरीले १र१ विकेट लिए।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा २८ ओभरमा झारिएको थियो। अछामले टस जितेर पहिला ब्याटिङ गरेको २३।२ ओभरमा ८९ रनमा समेटियो। उसका सुरज तिरूवाले ३० तथा युवराज खत्रीले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन्। अछामलाई सस्तैमा समेट्न कञ्चनपुरका दीपक चन्द एक्लैले ५ विकेट लिए। यस्तै भरत चन्दले ३ विकेट झारे। दीपक खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो।

यो जितसंगै कञ्चनपुर ६ अंकका साथ शिर्ष स्थानमा पुग्दै फाइनलको सम्भावना बलियो बनाएको छ। कञ्चनपुरले अब अन्तिम खेल शनिबार बैतडीसंग खेल्नेछ। लगातार तेस्रो हार व्यहोरेको अछाम भने प्रतियोगिताबाटै बाहिरिसकेको छ। उसले अन्तिम खेल अब शुक्रबार बझाङसंग खेल्नेछ।

दुईखेलमा दुबै जितेको बैतडी अंकतालिकाको दोस्रो स्थानमा छ। एकमा हार र एकमा जित निकालेको कैलाली तेस्रो र दुबै खेल हारेको बझाङ पुछारबाट दोस्रो स्थानमा छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ।

No description available.

Leave A Reply

Your email address will not be published.