बैतडी । दार्चुलाको दुहुँ गाउँपालिकाको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि पुस २४ गतेदेखि शुरू हुने भएको छ। उक्त रनिङ शिल्ड प्रतियोगिता जनविकास मावि बारबाजमा सञ्चालन हुने दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले जानकारी दिनुभयो ।
यसअघि गौरिलमाडौं मावि हिकिलामा हुँदै आएको प्रतियोगिता पहिलोपटक जनविकास मावि बारबाजमा हुन लागेको हो । रनिङ शिल्ड प्रतियोगिताको लागि दुहँ गाउँपालिकाको सहयोगमा मैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको जनविकास माविका प्रधानाध्यापक शान्ति बोहराले बताउनुभयो। यसका साथै रनिङ शिल्ड प्रतियोगिताका लागि विद्यालयमा खेल सप्ताह सञ्चालनमा रहेको र प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारी पनि बाँडफाँड गरि समिति बनाएको छ।
रनिङ शिल्ड प्रतियोगितामा पालिकामा रहेका ५ विद्यालयको सहभागीता रहने दुहुँ गाउँपालिकाका शिक्षा शाखा संयोजक लोकेन्द्रबहादुर बमले बताउनुभयो । प्रतियोगितामा जनविकास मावि बारबाजसहित गौरीलमाडौं मावि हिकिला, धारापानी मावि धारी, गणेश मावि सिमली र पिपलचौरी मावि बिणको सहभागीता रहने छ।
पालिकास्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन्।