बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा आज बैतडी र कञ्चनपुर भिड्दैछन्।
फाप्ला मैदानमा बैतडीले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको छ।
यसअघि दुइवटै खेलमा अपराजित बैतडी आज विजयी हुँदै फाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। कञ्चनपुर भने आज चौथो जित निकाल्दै फाइनलमा सुरक्षित हुने लक्ष्यमा छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ। छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ।