बैतडी । मैयादेवी मेमोरियल उन्नाईस वर्षमुनिको महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ १२ गते शुक्रबारदेखि शुरू हुने भएको छ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।
नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीको सहभागीता रहने जनाएको छ।
सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा गण्डकी,सुदूरपश्चिम,कोशी र मधेश तथा समूह बी मा कर्णाली,बागमती र लुम्बिनी रहेका छन्।
उद्घाटन खेलमा माघ १२ गते गण्डकी र सुदूरपश्चिम प्रदेश भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ। सन् २०२४ मा युएईमा हुन गईरहेको एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ।
