बैतडीको मेलौली नगरपालिकाको लामालेक देखि शिवनाथ गाउँपालिकासम्मको विद्युत प्रशारण लाईन चार्ज गर्न परिक्षण गरिने भएको छ। विद्युत सेवा विस्तारको क्रममा रहेको उक्त क्षेत्रमा परिक्षणका लागि विद्युत लाईन चार्ज गर्नको लागि परिक्षण गर्न लागिएको वितरण केन्द्र बैतडीले जनाएको छ ।
बजार फिडरको लामालेक देखि मेलौली नगरपालिका हुदै शिवनाथ गाउँपालिका सम्मको ११ केभी प्रशारण लाईनमा विद्युत प्रावाह गरि विद्युत लाईन चार्ज गर्न परिक्षण गरिने वितरण केन्द्र बैतडीले सूचना जनाएको छ। बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलद्वारा हस्ताक्षरित जारी सूचनामा माघ १० गतेदेखि १४ गतेसम्म विद्युत चार्ज गरिने भएकाले उक्त अवधीमा विद्युतका पोल, तार, स्टे लगायतका विद्युतीय संरचनामा नछोइदिन आग्रह गरिएको छ।
सूचनाको अवज्ञा गरी अप्रिय घटना घटेमा स्वयमले जिम्मेवार हुनुपर्ने समेत चेतावनी दिइएको छ। विद्युत परिक्षणका क्रममा दुर्घटनाको जोखिम हुने भएकाले विद्युतका संरचनामा नछोइदिन आग्रह गरिएको हो ।
चार्ज हुने समयमा पड्किएको, आगोको झिल्को देखिएको अवस्थामा विद्युत वितरण केन्द्र वा वडा कार्यालयमा सम्पर्क गरिदिन आग्रह समेत गरिएको छ।