सुदूरपश्चिमकाे चाैथाे जित,दाेस्राे स्थानमा उक्लियाे

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म खेलेका ५ मध्य ४ खेलमा जित निकालेको सुदूरपश्चिम प्रदेश ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । कोशी प्रदेशको भने यो लगातार आठौं हार हो ।

कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ३२ ओभरमा सवै विकेट गुमाएर १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिम प्रदेशले २१।२ ओभरमा २ विकेट गुमाएर जीत निकाल्न सफल भयो ।

पहिला ब्याटिङ गर्दा कोशीका मिनास थापाल २६ रन बनाउँदा कप्तान अंकित सुवेदीले २२ रन जोडे । यसैगरी कमल खत्रीले १८ तथा फिर्दोश अन्सारीले १३ रन बनाए । सुदूरपश्चिम प्रदेशका शेर मल्लले ५ तथा विकास अग्रीले ४ विकेट लिए ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई जिताउन नरेन भट्टले नटआउट ५४ रनको अर्धशतकीय पारि खेल्दा प्रकाश पाण्डेले नटआउट ३४ रनको योगदान गरे । कप्तान राजु रिजाल २१ तथा खडक बोहोरा ९ रनमा आउट भएका थिए । कोशीका फिर्दोश अन्सारीले दुवै विकेट लिए ।

Leave A Reply

Your email address will not be published.