बैतडी । १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ २६ देखि मेलौलीमा हुने भएको छ। जिल्ला खेलकुद समितिको आईतबार बसेको बैठकले मेलौलीमा गर्ने निणर्य गरेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए।
बैठकले यहि माघ २६ गतेदेखी २८ गतेसम्म प्रतियोगिता गर्ने निणर्य गरेको छ। प्रतियोगिताको जिल्ला खेलकुद समिति आयोजक र मेलौली नगरपालिका सह–आयोजक रहेका छन।
प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, कराते हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए। १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने उनले बताए।
जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मेलौलीमा पहिलो पटक हुन लागेको हो। गत बर्ष पाटनमा सञ्चालन भएको थियो।
पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो। मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको थियो। ७ स्वर्ण, ६ रजत र ८ कास्यपदक सहित पाटन नगरपालिका दोस्रो र ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको थियो।