बैतडी । हिउँदे बर्षा भएसंगै बैतडीमा हिमपात भएको हो।यहाँ यो बर्ष पहिलो पटक हिमपात भएको हो।
बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको स्थानीय भानबहादुर बोहराले बताउनुभयो। पाटनको खोड्पे,अनारखोली क्षेत्रमा पनि हिमपात शुरु भएको छ।
यस्तै सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन्। हिमपात भएपनि राजमार्ग अवरुद्ध भने नरहेका ट्राफिक प्रहरी पोष्ट खोडपेका प्रहरी जवान शेरसिंह विष्टले बताउनुभयो।
यो बर्ष लामो समयपछि हिउँदे बर्षा र हिमपात भएको छ। गएको असोजदेखि बर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो।
लामो समयपछि भएको बर्षाले बालीनालीलाई फाइदा पुगेको दशरथचन्द नगरपालिका १ का किसान राजबहादुर टेरले बताउनुभयो। खडेरीले सुक्नै लागेको बालीमा यो बर्षाले फाइदा पुगेको उनले बताए।बर्षा र हिमपातले चिसो बढ्न थालेको छ।
चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। चिसोको समयमा तातो झोलिलो कुरा सेवन गर्न र न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ।




