बैतडी । मेलौलीमा हुने १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। पर्सिदेखी मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मेलौली नगर खेलकुद समितिका अध्यक्ष सागर भण्डारीले बताउनुभयो।
१० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने प्रतियोगिताको लागि खेलकुद प्राङ्गणमा आवश्यक तयारी भईरहेको जनाईएको छ। खेलमैदान सजावटदेखी लिएर मञ्च निर्माणको काम अन्तीम चरणमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए।
बास बस्नको लागि सबै पालिकाका खेलाडी लगायत प्रतिनिधिहरुलाई छुट्टाछुट्टै होटलको व्यवस्था मिलाईएको नगर प्रमुख भिम बहादुर चन्दले बताए।खानेपानीको समस्या रहेको मेलौलीमा नगरपालिकाले आवश्यकता अनुसार ट्याकंरबाट समेत पानी ओसारेर समस्या सामाधान गरिने उनले बताए।
मेलौलीमा जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुने भएपछि नगर उपप्रमुख पार्वती बोहरा बिष्टको संयोजकत्वमा बजारको अनुगमन गरिएको थियो। मेलौली बजार क्षेत्रमा रहेका सबै होटलहरुको बस्तुस्थिति बुझिएको र सबै पाहुनाहरुको बसाई व्यवस्थापनमा कुनै समस्या नहुने उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन्।
प्रतियोगिताको लागि आवश्यक स्वयमसेवक परिचालन, आवश्यक पुर्वाधार लगायतका सबै विषयमा जिममेवार ढंगले लागि परेको मेलौली नगर खेलकुद समितिका अध्यक्ष भण्डारीले बताए। प्रतियोगिताको पर्सी बिहान ११ बजे उद्घाटन हुने जनाईएको छ। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ।