बैतडी : गोविन्दपुरी माध्यमिक बिद्यालयको ६३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। भागेश्वर गाउँपालिका–०३ लामिकाण्डेमा रहेको सो बिद्यालयले आईतबार एक कार्यक्रमका बिच ६३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तपेन्द्र बोहराको सभाध्यक्षता र भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा गाउपालिका उपाध्यक्ष पुष्पा ठगुराठि सहित बिभिन्न वडाका वडा अध्यक्षहरु बिशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका कार्यहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक लक्ष्मी दत्त चटौतले १ करोड ५७ लाँख २५ हजार ३७२ रुपैया बरावरको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै गाउँपलिका अध्यक्ष हेमराज चटौतले बिद्यालयको चौतर्फि बिकासका लागि पालिकाबाट हुने हरेक किसिमको सहयोग गर्ने बताएका थिए। समाज रुपान्तरणको प्रमुख संबाहक शिक्षा क्षेत्र रहेकाले भागेश्वरको शिक्षा स्थिति सुधार गर्न आफु प्रतिबद्ध रहेको उनले बताएका थिए।
यसैगरी गाउँपालिका उपाध्यक्ष ठगुराठिले बिद्यालयमा आफ्ना छोरा-छोरीहरुले के कसरि अध्ययन गरिरहेका छन, बिद्यालय गईरहेका छनकि छैनन भनेर अभिभावकहरुले पनि अनुगमन गर्नुपर्ने बताउनुभयो। शिक्षा क्षेत्रको स्तर सुधारका लागि शिक्षक अभिभावक र स्थानीय सरकारको भुमिका उत्तिकै हुने बताउनुभयो।
कार्यक्रममा लोक तथा देउडा गायक गोपाल दयाल र बिद्यार्थीहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए। साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट पनि प्रत्यक्ष प्रशारण गरिएको थियो।