राष्ट्रिय टी-२० क्रिकेट: सुदूरपश्चिमको दोस्रो जित, पुलिस ५२ रनले स्तब्ध

कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोलीले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले नेपाल पुलिस क्लबमाथि ५२ रनले हरायो।

सुदूरपश्चिमले दिएको १८४ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो।उसका शंकर रानाले अविजित ९१, अभिषेक कार्कीले २० रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका शेर मल्ल र दीपक चन्दले २र२ र नारायण जोशीले १ विकेट हात पारे।

त्यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८३ रन बनायो । जसमा अभिषेक पालले अर्धशतकीय पारी खेल्दै ५८,नारायण जोशीले ४०,किरन ठगुन्नाले ३० रनको योगदान गरे। पुलिसका शरद भेषवाकरले ३ र मन्जित श्रेष्ठले २ विकेट लिए। नारायण जोशी म्यान अफ द म्याच भए। यसअघि पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएको थियो भने दोस्रोमा लुम्बिनीसंग पराजित भएको थियो।

क्रिकेट संघ मोरङको आयोजनामा फागुन २२ गतेदेखि शुरू भएकाे प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहेको छ। चैत ३ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित ५ र उपविजेताले ३ लाख नगद पुरस्कार पाउने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.