बागलुङ बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो

मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस पल्टिँदा ८ जनाको मृत्यु भएको छ। 

घटनास्थलबाट ७, उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो। घटनामा २५ जना घाइते भएका छन्। बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ। रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार मृतक ३ महिला र ५ पुरुष छन्। उनीहरुको नाम ठेगाना भने खुलेको छैन।

रुकुम पश्चिमबाट सोमबार बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा उक्त स्थानमा दुर्घटनामा परेको थियो। उक्त बस सडकदेखि १ सय ५० मिटर तल खसेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार बिकले बताए। बस भिर र खोंचमा खसेकोले उद्दारमा समेत कठिनाइ भएको थियो।

प्रहरी निरीक्षक बिकको नेतृत्वमा गएको उद्दार टोलीले सुरुवातमा खोजी उद्दार गरेपछि रुकुम पूर्वबाट प्रहरी निरीक्षक हरि भट्टराइको नेतृत्वमा आएको १८ जनाको प्रहरी टोलीले थप मद्दत गरी घाइते र मृतक निकालेको थियो। ७ वटा शव प्रहरीले रुकुम पश्चिम लगेको छ। मृतकको आफन्तलाई बुझाउन र सनाखतका लागि सहज बनाउन शवहरु पश्चिम लगिएको भट्टराईले जानकारी दिए। एउटा शव बुर्तिवाङमा रहेको छ।

घाइतेहरुको भने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भएको हो। अधिकांश गम्भीर घाइते भएकोले रातीनै पोखरा पुर्‍याउने काम सुरु भइसकेको छ। उद्दारका लागि सदरमुकाम बागलुङबाट एम्बुलेन्स, प्रहरी र सेनाका गाडी बुर्तिवाङ गएका छन्।

घटनापछि अध्यारो भएकोले खोजी उद्दारमा कठिनाइ भएको थियो। घाइतेलाई उपचारमा पठाउन तथा घटनास्थलको थप सुरक्षा र उद्दारका लागि बिपत व्यवथापन गुल्म बागलुङबाट २० जना, नेपाली सेनाको घोडाबाँधे व्यारेकबाट सहसेनानी चिबबहादुर बुढाथोकीको नेतृत्वमा २५ जनाको उद्दार टोली घटनास्थल गएको थियो।

घटनास्थल सदरमुकाम देखि १ सय ३० किमी पश्चिम पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले बताए।

Leave A Reply

Your email address will not be published.