डोटीमा एक निजी विद्यालय सामुदायिक विद्यालयलाई हस्तान्तरण

डोटी– डोटीमा एक वडाध्यक्षले आफ्नो निजी विद्यालय सामुदायिकलाई हस्तान्तरण गरेका छन्।

जिल्लाको शिखर नगरपालिका–१ गुमगाउँस्थित केदार नमुना बोर्डिङ स्कुललाई सामुदायिक विद्यालयमा समायोजन गरिएको हो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालय सञ्चालक समेत रहेका वडाध्यक्ष दिपक बोगटीले नजिकैको दुर्गादेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरेका हुन्।

उनले गत आर्थिक वर्षमा शिखर नगरपालिकाबाट प्राप्त वडाको पुरै बजेट ३० लाख रुपैयाँ वडा अन्तर्गतका ५ सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लगानी गरेका थिए। २०७१ सालमा उनी र स्थानीय छत्र जोराको संयुक्त लगानीमा केदार नमुना बोर्डिङ स्कुल स्थापना गरिएको थियो। उक्त विद्यालयमा १ सय ४० विद्यार्थी रहेको दाबी छ।

बोर्डिङ स्कुलका फर्निचर र सम्पूर्ण शैक्षिक सामग्री समेत दुर्गादेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिसकिएको वडाध्यक्ष बोगटीले बताए। दुर्गादेवी आधारभुतमा कक्षा ८ सम्म पढाइ हुन्छ। त्यहाँ एक सय ४३ विद्यार्थी रहेका छन्। निजी र सामुदायिक विद्यालय नजिकै रहेकाले गाउँका विद्यार्थीहरु समेत बााँडिएका थिए। दुवै विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिहरु बीचको संयुक्त भेलाले दुर्गादेवी आधारभुत विद्यालयको गुणस्तर सुधारमा भूमिका खेल्ने सामूहिक प्रतिबद्धता समेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.