उपचुनावबाट एमाले उत्साहित, नयाँ शक्तिलाई धक्का

प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ । प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपचुनावमा एमालेले आफ्नै सिट जोगाएको हो भने प्रदेश सभा अन्तर्गत बझाङ १ क मा भएको उपचुनावमा एमालेले कांग्रेसको सिट खोसेको छ। इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारी निर्वाचित हुनुभयो।

सिट सङ्ख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल नल्याए पनि नतिजाले एमालेलाई उत्साहित बनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाममा विजयी जुलुसलाई सम्बोधन गर्ने कुराले पनि एमाले उत्साहित भएको देखाउँछ । पुराना शक्तिले आफूहरूप्रतिको विश्वास देखाउने र नयाँ शक्तिहरूले आफूहरूको विस्तार देखाउने गरी प्रचार गरेका कारण पनि यो चुनाव दलहरूका लागि प्रतिष्ठाको विषय बनेको थियो।

यस्तै अघिल्लो चुनावअघि विभिन्न कारण धेरै आलोचित बनेर पुनः लयमा फर्कन लागेको एमालेका लागि यो जित आफ्नो क्षमता देखाउने माध्यम बनेको राजनीतिक विश्लेषक प्राध्यापक डा। लोकराज बराल बताउनुहुन्छ। यस्तै चुनावको नतिजाले पुराना दलहरू विशषगरी कांग्रेस र एमालेकै प्रभाव देखाएको पनि डा। बरालले बताउनुभयो।

नयाँ शक्तिको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि इलाममा प्रचारलाई व्यापक बनाएको थियो। तर इलाममा रास्वपाका उम्मेदवारको धरौटीसमेत जफत भयो। इलाममा रास्वपाले पाएको मतले नयाँ शक्तिका नेताहरूको आचरण सुधार हुनुपर्ने देखिएको प्राध्यापक डाक्टर बरालले बताउनुभयो।

इलाममा रास्वपाका उम्मेदवारले कम मत पाउनुमा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिनु र हतारहतार सरकारमा सहभागी हुनु मुख्य कुरा रहेको धेरैको भनाइ छ। यो कुरालाई पार्टीको तर्फबाट कमान्डरको रूपमा इलाम–२ मा खटिएका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि स्वीकार गर्नुभएको छ।

उज्यालोबाट

Leave A Reply

Your email address will not be published.