बैतडी : सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा बागमती प्रदेशमाथि १०९ रनको शानदार जीत निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो।
सुदूरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६।१ ओभरमा ४८ रनमा अलआउट भयो। उसका करिश्मा गुरूङले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीको पारी ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका रितु कनौजियाले ३, लक्ष्मी साउँदले २,कविता जोशीले २,करिश्मा थापाले १ र कप्तान बिन्दु रावलले १ विकेट हात पारे।
यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५७ रन जोड्यो। प्रतियोगितामा दोस्रो अर्धशतक प्रहार गरेकी सम्झनाले ४७ बलमा १० चौकासहित ७४ रनमा अविजित रहिन्।
यस्तै कप्तान बिन्दु रावलले २८,रूवी पोद्दारले २८ र कविता जोशीले २० रनको योगदान गरिन्। बागमतीका लागि करिश्मा गुरूङले १ विकेट हात पारिन् ।
जितसंगै सुदूरपश्चिम चार खेलबाट तीनजितसहित ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ। एपीएफ क्लब ४ खेलबाट ८ अंक जोड्दै फाइनलमा पुगेको हो। यी दुबै टोलीबीच फाइनल भिडन्त शनिबार हुनेछ।