आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) लाई ५ विकेटले हराएको छ। गएराति भएको खेलमा पिएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । पिएनजीका लागि असद भालाले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो। पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५० रन बनाए। यसअघि हिजो भएको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको थियो ।
विश्वकप अन्तर्गत आज पनि दुई वटा खेल हुदैछन्। नामिबिया र ओमानको खेल अहिले हुँदैछ। आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन्। नेपालले भोलि मङ्गलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ।