बैतडी : देशभरी जस्तै मेलौलीमा पनि सञ्चालन भएको पोलियो रोग विरुद्ध दिईने (आईपिभी) खोप अभियान सम्पन्न भएको छ। जेठ १६ गतेदेखि सञ्चालन भएको आईपिभी खोप अभियान जेठ २० गते सम्पन्न भएको स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताउनुभयो।
मेलौलीका ९ खोप केन्द्रबाट सञ्चालन भएको अभियानमा ८४० बालबालिकाले आईपिभी खोप लगाएका छन। आधारभुत स्वास्थ्य सेवा केन्द्र मेलोली-१ बाट १३६ बालबालिका, दुर्गास्थान स्वास्थ्य चौकिबाट ६३ जना, सलेना स्वास्थ्य चौकिबाट ९४, आधारभुत स्वास्थ्य सेवा केन्द मेलौली-४ बाट ५५ र माहारुद्र स्वास्थ्य चौकिबाट १०९ जना बालबालिकाले (आईपिभी) खोप लगाएको स्वास्थ्य शाखा प्रमुख मोहन सिह भाट्ले बताउनुभयो।
यसैगरी आधारभुत स्वास्थ्य सेवा केन्द्र मेलोली-६ बाट ६९ जना, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ७ बाट १४७ जना, आधारभुत स्वास्थ्य सेवा केन्द्र मेलोली-८ बाट ८१ जना र बिशालपुर स्वास्थ्य चौकिबाट ८६ जना बालबालिकाले आईपिभी खोप लगाएको जनाईएको छ। मेलौलीमा आईपिभी खोप अभियानको लागि ३२ जना स्वास्थ्यकर्मी र ६४ जना स्वंयसेवक खटाईएको थियो।
मेलौलीमा खोप लगाउनुपर्ने बिद्यालयका बालबालिकाहरु मध्ये कम बालबालिकाले खोप लगाएका छन। १००५ जना बालबालिकाले खोप लगाउनु पर्नेमा ८४० जनाले मात्र पोलियो रोग विरुद्ध दिईने आईपिभी खोप लगाएका हुन।
नेपालमा यो खोप सेवा २०७१ सलदेखि संचालन गरिएपनि २०७३ जेठदेखि ०७५ भदौसम्म आईपिभी खोप अभाव भएको थियो।खोप अभाव भएको अवधिमा छुटेका वालवालिकाहरुलाई पोलियो रोगको जोखिम हुने हुँदा यो खोप लागाउन अभियान संचालन गर्नु परेको हो ।