मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिने, नेपालका प्रधानमन्त्री प्रचण्ड जाँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालको लागि शपथ लिने भएका छन्। टाइम्स अफ इन्डियाका अनुसार मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

यसअघि मोदीले शनिबार प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए। चुनावी नतिजासँगै राजीनामा दिएकाले मोदी अहिले कामचलाउ प्रधानमन्त्रीको रूपमा रहेका छन्।

मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत छिमेकी देशका सरकार र राष्ट्र प्रमुखहरू सहभागी हुने भएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत पनि सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदीले यसअघि सन् २०१४ र २०१९ मा सरकारको नेतृत्व गरेका थिए। भारतीय जनता पार्टी भाजपाका मोदीलाई प्रधानमन्त्री बनाउन जनता दल युनाइटेडका नितिश कुमार र तेलगु देसम पार्टीका चन्द्रबाबु नायडूले लिखित सहमति गरेका छन्।

भाजपाको नेतृत्वमा रहेको एनडीए गठबन्धनमा यी दुई दल पनि छन्। भारतमा सरकार बनाउनको लागि आवश्यक २७२ सिट मोदीको पार्टी भाजपासँग छैन । लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको छ।

जनता दल युनाइटेडसँग १२ र तेलगु देसम पार्टीसँग १६ सिट रहेको छ। यी दुई दलको समर्थनमा पनि बहुमत नपुगेपछि मोदीले एनडीए भित्रकै अरू दलको साथ खोजिरहेका छन्।

अनलाईन खबर

Leave A Reply

Your email address will not be published.