बैतडी-बैतडीको मेलौली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा भएको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताउनुभयो।
स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ मेलौलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । खोपको मापदण्ड पुरा गरेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको मैलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो।
नगरपालिकाका ९ वटै वडामा रहेका १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाले खोप पाएको उनले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका नगर-प्रमुख भीम बहादुर चन्दले स्वास्थ्य क्षेत्र प्राथमिकतामा राखिएकाले यसमा जनताको सहज पहुँच स्थापित गरेर गुणस्तरीय सेवा उपलब्ध गराउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा नगर उप–प्रमुख पार्वती बोहरा विष्ट, नगरपालिकाका कार्यपालिकाका सदस्य,विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरु, संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नगरपालिका ९ वटै वडाका स्वास्थ्य संस्थालाई प्रमाण पत्र सहित प्रदान गरिएको छ ।