बैतडीमा विष खुवाएर मार्न खोजेको आरोपमा एक युवती प्रहरी नियन्त्रणमा

बैतडीमा आफ्नै प्रेमीसहित उहाँका आमाबुवालाई खानामा विष मिसाएर खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेकी छन्। पुर्चौडी नगरपालिका–१०, विजयपुरको बिचकिल्ला घर भई प्रेमीको घर सुर्नया गाउँपालिका –५, बरायलको मल्लो कक्सयाली बस्दै आएकी १८ वर्षीया करिश्मा बिष्टलाई बैतडी प्रहरीले पक्राउ गरेको हो।

विषादी मिसिएको खाना खाएपछि सुर्नया गाउँपालिका –५, बरायलको मल्लो कस्सयालीका प्रेमी २२ वर्षीय करन विष्ट, उहाँका बुवाआमा ५५ वर्षीय कलुवा विष्ट र ५४ वर्षीया माधवी विष्ट अस्पताल भर्ना हुनुभएको छ। करिश्मा र करनबिच प्रेम बसेपछि विधिवत् विवाहको तयारी भइरहेको थियो। प्रेमी करन विष्टकी ठुलीआमाको निधनका कारण विधिवत् विवाह हुन ढिलो भएपछि प्रेमीका गत माघ महिनादेखि प्रेमीको घरमा सुर्नया पुगेर बुहारीजस्तै बनेर बसेको परिवारका सदस्यले बताएका छन्।

हिन्दु परम्पराअनुसार विधिवत् विवाह हुन बाँकी रहे पनि छोराले बुहारी भित्र्याएकोमा घरपरिवार खुसी रहेको परिवारका सदस्यले बाएका छन्। प्रेमी करन विष्टकी ठुलीआमाको वार्षिक पुण्यतीथिपछि विधिवत् विवाह गर्ने तयारी भइरहेका बेला दुखद् घटना भएको करनका ठुलोबुवा मानबहादुर विष्टले बताउनुभयो। उहाँले, बिरामी परेका तीन जना आफ्नै भाइको परिवारका सदस्य रहेको बताउनुभयो।

“विवाह नहुँदै बुहारी मानेर बसेका थियौँ, तर विष खुवाएर मार्न खोजिन्” उहाँले भन्नुभयो,“ शुक्रबार साँझ रोटी पकाउँदा पिठोमा विष मिलाएकी रहिछन्। आफूले खाना खाइसकेको भन्दै परिवारका तीन जनालाई मात्र खाना खुवाएको पाइयो। राति ९ः०० बजे खाना खाएर आराम गर्न बसेका बेला छोरा करन र उहाँका आमाबुवाले बान्ता गर्न थालेपछि राति नै एम्बुलेन्स बोलाएर डडेलधुरा अस्पताल पुगाएका थिए। बुहारी मानेर भित्र्याएकी युवतिले यस्तो गर्लिन् भन्ने सोचेका पनि थिएनौँ।”

प्रहरी नियन्त्रणमा रहेकी युवतिले खानामा विष मिलाएर खुवाएको स्वीकार गरेकी छन्। प्रारम्भिक अनुसन्धानमा युवतिले बाख्राले बाली खाएपछि सासूले गाली गरेका कारण खानामा विष मिलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो।

उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानमा बाख्राले बाली खाएपछि सासूले गाली गरेका कारण घटना भएको खुल्न आएको छ। ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान गरिरहेका छौँ।”

गोरखापत्र अनलाइन  

Leave A Reply

Your email address will not be published.