आज सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

काठमाण्डौको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। मुस्लिम धर्मावलम्बीले आउँदो बुधवारसम्म तीन दिन यो पर्व मनाउने छन्। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ। बकर इद (इदुल जोहा)को अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्दै बकर इदजस्ता पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.