बैतडीका विभिन्न स्थानका किसानले गरेको मकैखेतीमा अमेरिकन फौजी किराले आक्रमण गरेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी किराले आक्रमण गरेको हो ।
मुख्य खाद्यबालीका रुपमा रहेको मकैमा अमेरिकन फौजी किराले आक्रमण गर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। किराले मकैको बोटहरु सखाप पारेको दोगडाकेदार गाउँपालिका ५ न्वालीका किसान मदनसिंह कार्कीले बताउनुभयो। मकैबाली लगाएकै बेलादेखि फौजी किराले मकैबालीमा क्षति पु¥याउन थालेको छ । उहाँले भन्नुभयो,“ किराले मकैको पातमा पसेर गाबो समेत खाने गरेको छ । किराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ। किरा नियन्त्रणका लागि बिषादी उपलब्ध गराईदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौं।”
विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएपछि अनुगमन र बिषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताउनुभयो। उहाँले भन्नुभयो,“किसानहरुले फौजी किराले मकैमा आक्रमण गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौं। ”
समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी किरा बढी सक्रिय हुने गरेको छ । मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। दिनभरी मकैको बोटमा लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ।
पालिकाका विभिन्न वडामा अमेरिकन फौजी किराको प्रकोप देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताउनुभयो। रिम, कालागाउँ लगायतका किसानहरुले फोन गरेर फौजी किराको प्रकोप देखिएको जानकारी गराएका छन्। उहाँले भन्नुभयो,“ मकैमा फौजी किराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन कार्य गरि बिषादीको व्यवस्था गरेको छौं। ” फौजी किरा रातको समयमा बढी सक्रिय हुने गरेकाले प्रकोप देखिएको ठाउँमा बिषादीको प्रयोग गर्न आवश्यक रहेको भट्टको भनाई छ।
गएको चार वर्ष यता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो,“ मकैमा फौजी किराको प्रकोप प्रत्येक सिजनमा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा स्टेजबाटै मकैको बोट खान थाल्छ। नियन्त्रणका लागि मुस्किल हुने गरेको छ।”
पालिकाको कृषि शाखाहरुको समन्यमा किसानहरुलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ। ईमामेक्टिन वेन्जोएट,अल्टाकोर नामक बिषादी वितरण गर्ने र एक किसानले मात्रै बिषादी प्रयोग गरेर नहुँने भएकोले प्रकोप देखिएका सबै बारीमा बिषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने जनाइएको छ। माटोको उपचार गरेर पनि फौजी किराको प्रकोप हटाउन सकिने प्रमुख चौधरीको भनाई छ।
फौजी किराको प्रकोप देखा परेकोले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ। बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भएपनि जंगली जनावर,विभिन्न रोगकिरा,बसाइसराइका कारण हाल ५ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकै खेती गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।