प्रधानमन्त्री नैतिक सङ्कटमा

सत्ता साझेदार मुख्य दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नैतिक सङ्कटमा पर्नुभएको छ । सोमवार राति कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि मंगलवार बसेको माओवादी बैठकले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो। तर हिजो बेलुकी एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री थप दबाबमा पर्नुभएको छ।

आउँदो आइतवार बस्ने संसद् बैठकमा सम्बोधन गरेर उहाँले राजीनामा दिन सक्ने चर्चा भइरहेको छ। अब राजीनामा दिने या संसदमा विश्वासको मतको सामना गर्ने विकल्प प्रधानमन्त्रीसँग छ। एमालेले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिअब प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन हिजोसम्मको समय दिएको थियो । तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । त्यसलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन्।

कांग्रेसले पनि राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरिसकेको छ। संसदका प्रमुख दलबीच संविधानको धारा ७६९२० बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न उचित हुने कांग्रेसको ठहर छ।

कांग्रेस र एमालेले राजनीतिक स्थायित्व, आर्थिक विकास, समृद्धि र सुशासनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न अरू दलहसँग पनि आह्वान गरेका छन् । प्रतिनिधिसभामा आठ सिट भएको लोसपाले नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । १४ सिट भएको राप्रपा, सात सिटको जसपा, छ सांसद रहेको जनमत पार्टी र पाँच सिट भएको जसपा नेपाल पनि नयाँ गठबन्धनप्रति सकारात्मक छन् । तर उनीहरूले औपचारिक निर्णय भने लिइसकेका छैनन्।

प्रतिनिधिसभामा ३२ सिट रहेको माओवादी र २१ सिट रहेको रास्वपाले विपक्षमा बस्ने निर्णय गरिसकेका छन् । १० सिट भएको एकीकृत समाजवादी, चार सिट भएको नागरिक उन्मुक्ति पार्टी, एकरएक सिट भएका जनमोर्चा, नेमकिपा र आम जनता पार्टी तथा दुई स्वतन्त्र सांसदले पनि निर्णय गरिसकेका छैनन्।

उज्यालो

Leave A Reply

Your email address will not be published.