बैतडी–सेती नदीमा पनीको वहाव बढेपछि बाढीको जोखिम बढेको छ। लगातारको बर्षाले नदीमा बहाव बढ्दै गएपछि बैतडीको सिगास गाउँपालिका ५ ढुंगाडका केही घरपरिवार विद्यालयमा सरेका छन ।
नदीमा पानीको बहाव बढेपछि सेती नदी किनारका बासिन्दा स्थानीय शारदा माविमा सरेका शिक्षक इन्द्रबहादुर चन्दले बताए। सेती नदी किनारमा करीब ६० घरपरिवार बसोबास गर्दै आएकोमा १० भन्दा बढी परिवार घर छोडेर विद्यालयमा आश्रय लिन आएका उनले बताउनुभयो।
रातिको समयमा नदीमा बाढी आउन सक्ने भएकाले उनीहरु पशुचौपायासहित विद्यालयमा आश्रय लिएर बसेका शिक्षक चन्दले बताए । केही परिवार अझै विद्यालयमा आउने तयारीमा रहेका उनले बताए । उनले भने ‘लगातारको बर्षाले सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयबासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि पानी आइपुगेको छ । स्थानीयहरु अहिले विद्यालयमा बसीरहेका छन् ।’
सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका वडा नं- ५ का हरडाखानी, लाम्बगड, लोडे लगायतका बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं -६ का सेती किनारका बस्तीहरु पनि बाढीको जोखिममा परेका बताइएको छ ।
वडा नं -५ को ढुंगाड अन्तर्गत सेती किनारका बासिन्दाहरु अहिले विद्यालयमा सरीसकेका वडा नं ५ का वडा सचिव उद्धवबहादुर महराले बताए । लगातार बर्षा भइरहेकाले सुरक्षित स्थानको खोजी गर्दै स्थानीयहरु विद्यालयमा पुगेका हुन् ।
शनिबार साँझ ५ बजेदेखि स्थानीयहरु विद्यालयमा सर्न थालेका र केही परिवार अहिले पनि विद्यालयमा पुग्ने क्रम जारी रहेको शिक्षक चन्दले बताउनुभयो