डडेल्धुराको अजयमेरु गाउँपालिकामा चैते धान उत्पादन

डडेल्धुरा-डडेल्धुराको अजयमेरु गाउँपालिकामा चैते धान उत्पादन हुन थालेको छ। गाउँपालिका वडा नम्बर ४ हुराका किसानले चैते धान उत्पादन गरेका हुन्।

‘चैते धान उत्पादन कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले वडा नम्बर-४ को हुराका किसानलाई चैते धान परीक्षण खेती गर्ने सिकाएको हो। अहिले हुरामा परीक्षणको रुपमा चैते धान लगाइएको र नतिजा राम्रो देखिएको अजयमेरु गाउँपालिकाको कृषि शाखाले जनाएको छ। चैते धानको राम्रो उत्पादन भएकोले आगामी आर्थिक वर्षबाट चैती धानको उत्पादन क्षेत्र बढाउने कृषकहरू बताउँछन्।

पानी कम चाहिने १२० देखि १२५ दिनमा फल्ने रोग तथा किरा संक्रमण सहन सक्ने र मसिनो दाना हुने भएको चैते ५ नामका बालीतर्फ किसानको आकर्षण बढेको कृषि शाखाको भनाइ छ। गाउँपालिकाले अनुगमन गरेर वडा नम्बर ४ को हुराका किसानको खेतमै अन्तरक्रिया कार्यक्रमसमेत गरेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले चामलमा आत्मनिर्भर बन्ने अभियानअन्तर्गत गाउँपालिकाको वडा नम्बर ४ मा करिब एक हजार मिटरको उचाइमा चैते धान परीक्षण खेती गरिएको बताए। आर्थिक वर्ष २०८१र८२ मा यसलाई विस्तार गर्ने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ। इच्छुक किसानले पालिकाको कृषि शाखामा सम्पर्क गर्न हुन अनुरोध गरे।

नेपालमा धान आयात कम गराउन वा धानमा आत्मनिर्भर गराउन ‘चैते धान’ उपयुक्त हुने देखिएको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा चैते धान उत्पादन क्षमता ‘असारे धान’ भन्दा धेरै छ। उक्त क्षमता अनुसार खेतीको क्षेत्रफल पनि विस्तार गर्ने हो भने नेपालमा धान उत्पादन बढ्ने देखिएको विज्ञहरू बताउँछन्।

Leave A Reply

Your email address will not be published.