दलित समाज विकास मञ्चको २१औँ वार्षिकोत्सव सम्पन्न

बैतडी: दलित तथा पछाडि पारिएका समुदायका उत्थानका लागि क्रियाशील गैरसरकारी संस्था दलित समाज विकास मञ्च बैतडीले २१ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ।

बिहीबार बैतडी सदरमुकाममा विभिन्न कार्यक्रमको आयोजना गरेर संस्थाको स्थापना दिवस मनाइएको संस्थाकी अध्यक्ष सरस्वती नेपालीले बताइन्। दलित समाज विकास मञ्च स्थापना भएको २१ बर्ष पुगेको अवसरमा जिल्ला अस्पताल बैतडीमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ।

यस्तै जिल्ला अस्पताल बैतडीमै रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीलाई हिंसा प्रभावित महिलाहरुका लागि लत्ताकपडा र अन्य सामग्री हस्तान्तरण गरिएको छ। समाज स्थापना दिवसको अवसरमा दशरथचन्द नगरपालिका ५ पल्लाचौंडालीका आगलागी पीडित सरस्वती लुहारलाई खाद्यान्न सामग्री सहयोग गरिएको अध्यक्ष नेपालीले बताइन्।

दिवसको अवसरमा समाजको कार्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, सुरक्षा निकायका प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। दलित समाज विकास मञ्चले लामो समयदेखि समाजमा रहेका विभिन्न विकृति विसंगति हटाउँदै पछाडि परेका वर्गको उत्थानका लागि काम गर्दै आएको समाजका सचिव बलभद्र दयालले बताए।

Leave A Reply

Your email address will not be published.