बैतडी : मेलौलीमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। मेलौली नगरपालिका, नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्तपाल र सेभा फउण्डेशनको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

मेलौलीमा आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहज रुपमा आँखा सम्बन्धी विभिन्न रोगको उपचार पाउने नगरपालिका प्रमुख भीम बहादुर चन्दले बताउनुभयो। उपचार केन्द्र उदघाटन गर्दै नगरप्रमुख चन्दले आँखाको समान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।

नगरमै आँखा सम्बन्धी विभिन्न समस्याहरुको प्राथमिक उपचार सहज रुपमा पाउने भएपछि स्थानीय नागरिक हर्षित भएका छन। उपचार केन्द्र स्थापनापछि आँखामा समान्य समस्या आउँदा सदरमुकाम वा कैलाली पुग्नुपर्ने बाध्यता हटेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले नजिकै उपचार केन्द्र स्थापना भएपछि आँखाको जाँच गराउन बेला–बेलामा जान र सुविधा उपभोग गर्न नगरबासीलाई अनुरोध गर्नुभयो। आँखा सम्बन्धी आधारभूत उपचार सेवा प्रदान गर्ने उद्देश्य सहित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो।अहिले केन्द्रमा १ जना नेत्र सहायकले सेवा प्रदान गर्ने उनले बताउनुभयो ।

फाउन्डेशनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरणसगै औषधिको व्यवस्था गरेको छ भने नगरपालिकाले जनशक्ति र कार्यालयको व्यवस्थापन गरेको छ। नगर चन्दको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य विष्णु दत्त जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा मेलोली नगरपालिकाका उप–प्रमुख पार्वती बोहरा विष्ट, निवर्तमान नगरप्रमुख कृष्ण सिंह नायक, वडाध्यक्षहरु, जिल्ला समुन्वय समिती निवर्तमान प्रमुख सिद्धराज भट्ट, कार्यपालिका सदस्य र स्थानीय समाजसेवीहरुको लगायतको सहभागिता रहेको थियो।
