मेलौलीको इलाका प्रहरी कार्यालय त.स्व देही ‘क’श्रेणीमा स्तरोन्नती गर्न ढिलाई

बैतडी: मेलौली नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय त.स्व देही ‘क’ श्रेणीमा स्तरोन्नती हुन सकेको छैन। २०१६ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय ‘क’श्रेणीमा स्तरोन्नती  हुन सकेको छैन।

लामो समयदेखि स्थानीय तहदेखि जिल्ला सुरक्षा निकायबाट आवश्यक पहल गरिएपनि स्तरवृद्धि हुन सकेको छैन। २०७६ सालदेखि नगरपालिकाले पटक पटक इलाका प्रहरी कार्यालय त.स्व देहीलाई ‘क’श्रेणीमा स्तरोन्नती प्रक्रिया थालिएको भएपनि हालसम्म कार्यान्वयन हुन सकेन। हालसम्म पनि इलाका प्रहरी कार्यालयको स्तरोन्नतीको प्रयास जारी नै रहेको छ।

वि.स. २०७६ पुस ८ गते नगरसभाबाट इलाका प्रहरी कार्यालय त.स्व देही मेलौलीलाई ‘क’श्रेणीमा स्तरोन्नती गर्ने निर्णय पारीत गरिएको थियो  २०७६ फागुन १८ गते गते तत्कालिन नगरप्रमुख कृष्ण सिंह नायकले इलाका प्रहरी कार्यालय त.स्व देहीलाई ‘क’श्रेणीमा स्तरोन्नती गर्न माग गर्दै गृह मन्त्रालयमै पत्र पाठाएका थिए।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिलाई समेत पत्र पठाएका थिए। त्यसपछि २०७६ चैत्र २ गते जिल्ला जिल्ला सुरक्षा समितिको बैठकबाट समेत निर्णयगरी इलाका प्रहरी कार्यालय मेलौलीको स्तरवृद्धि गर्न आग्रह गर्दै गृह मन्त्रालयमा पत्र पठाइएको थियो।

मन्त्रालयबाट पनि कुनै प्रक्रिया अघि नबढेपछि २०७७ सालमा पनि सोही अनुसारको परिपत्र भएको थियो। मेलौली नगरपालिका बाट गृह मन्त्रालय र जिल्ला सुरक्षा समितिलाई लगातार परिपत्र गर्दै आएको थियो।जिल्ला सुरक्षा समितिले पनि मन्त्रालयमा परिपत्र गरिरहेको थियो।

त्यसपछि २०७८ मंसिर १३ गते पुनः नगर प्रमुख कृष्ण सिंह नायकले इलाका प्रहरी कार्यालय स्तरवृद्धिको आग्रहसहित जिल्ला सुरक्षा समिति, गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पत्र पठाए। २०७८ पुस ७ गते गृह मन्त्रालयको प्रहरी कर्मचारी प्रशासन शाखाले प्रहरी प्रधान कार्यालयलाई स्तरवृद्धिको आवश्यक कारवाही अघि बढाउन भन्दै पत्राचार गरेको थियो।

त्यतीमात्रै होइन त्यसको ६ दिनपछि २०७८ पुस १३ गते प्रधानमन्त्रीको कार्यालयले समेत यस विषयमा विभागमा आदेशअनुसारको पत्राचार गरेको थियो। तर पनि हालसम्म यो प्रक्रिया कार्यान्वयनमा गएको छैन।

२०१६ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय तस्वदेही स्तरोन्नती नहुदा तल्लो स्वराडका करिब ७० हजारबढी जनसंख्याको शान्ति सुरक्षाको व्यवस्था लगायतका कार्यहरुप्र भावित हुदै आएका छन्।यस इलाका प्रहरी कार्यालयलाई ‘क’श्रेणीमा स्तरवृद्धि गर्न आवश्यक रहेको सबै निकायले औँल्याएका थिए।

तल्लो स्वराडमा सुरक्षाका हिसावले संवेदनशील क्षेत्र रहेको सुरक्षा अधिकारीको ठहर छ। यो क्षेत्र चितुवा प्रभावित क्षेत्र पनि हो। तल्लो स्वराड क्षेत्रमा हुने विभिन्न घटनाको अनुसन्धानको लागि जिल्ला सदरमुकाम वा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक खटाउनुपर्ने बाध्यता छ।

जिल्ला सुरक्षा समितिले मन्त्रालयमा पठाएको परिपत्रमा समेत तल्लो स्वराडाका मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको शान्ति सुरक्षामा सहज पहुँचको लागि यहाँ ‘क’श्रेणीको इलाका प्रहरी कार्यालय आवश्यक रहेको उल्लेख गर्दै आएको छ।

त्यसपछि पनि लगातार मेलौली नगरपालिका र जिल्ला प्रशासन कार्यालय परिपत्र गर्दै आएको भएपनि कार्यान्वयनको चरणमा जान सकेको छैन।

तल्लो स्वराड क्षेत्र सुरक्षाको हिसावले सम्बेदसील रहेको बताउदै प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले इलाका प्रहरी कार्यालय तस्वदेहीलाई ‘क’श्रेणीमा स्तरवृद्धि गर्न अपरिहार्य भएको बताउनुभयो।

‘खुला सिमाना छ, अवैध सरसामान भित्रिने गरेका छन्, अवैध मदिराको पनि कारोबार हुन्छ, महिला हिंसाका घटना पनि बढेका छन्,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने ‘तल्लो स्वराडका तीन वटै स्थानीय तहको सुरक्षाका लागि ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालय निकै अपरिहार्य हो,’। जिल्ला सुरक्षा समितिमा हरेक बैठकमा यस विषयमा कुराकानी हुने गरेको उनले बताउनुभयो। मन्त्रालयलाई लगातार परिपत्र पनि गइरहेको उनले बताउनुभयो।

तत्कालिन नगरप्रमुख कृष्ण सिंह नायकले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा समितिको बैठक देखि गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसम्म पत्राचार गरेको बताउनुभयो। ‘यस क्षेत्रमा इलाका प्रहरी कार्यालय अपरिहार्य ठहर गर्दै हामिले लगातार सबै निकायमा धाएका थियौँ, कागजी प्रक्रियामा प्रगति भएको थियो, तर व्यवहारमा भएन।’ निवर्तमान नगर प्रमुख नायकले भने।

हालको कार्यपालिकाले पनि इलाका प्रहरी कार्यालय तस्वदेही ‘क’श्रेणीमा स्तरोन्नती गर्ने विषयमा पहल गर्ने निर्णय गरेको छ। कार्यपालिकाबाट निर्णय गरी २ पटक गृह मन्त्रालयमा परिपत्र गरेको बताउदै नगर प्रमुख भीम बहादुर चन्दले मौखिक रुपमा पनि नेतृत्वगणसँग आवश्यक पहलको लागि आग्रह गरेको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.