अस्पताल स्तरोन्नतीको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

बैतडी जिल्ला अस्पताल बैतडीको स्तरोन्नतीको माग सुदूरपश्चिम प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती भट्टले बैतडीबासीको तर्फबाट प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई ध्यानाकर्षणपत्र बुझाएकी हुन्।

५० शैय्याको अस्पताल सञ्चालन गर्नका लागि भवन निर्माण भइसकेको भएपनि अस्पताल सञ्चालनका लागि स्वीकृति नपाएकोले स्वीकृति दिन माग गरिएको अध्यक्ष भट्टले बताइन्।

त्यस्तै, अस्पताल सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गर्न, डिजिटल एक्सरे मेसिन, फिजियोथेरापी स्टेप मेसिन र हड्डी भाँचिएका बिरामीको उपचारका लागि सीएम मेसिन उपलब्ध गराउन उक्त ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ।

यसअघि बिहीबार बैतडीबाट समेत प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको थियो। सामान्य उपचारका लागि समेत बैतडीबासीले सीमावर्ती भारतीय क्षेत्रमा जानुपर्ने बाध्यता रहेकाले बैतडी अस्पताललाई स्तरोन्नती गर्नुपर्ने माग गरिएको थियो। जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नती गर्नुपर्ने र यहाँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन प्रदेश सरकारले ध्यान दिनुपर्ने भन्दै आफूहरुले अभियान सञ्चालन गरेको अभियान्ता महेशदत्त भट्टले बताए।

जिल्ला अस्पताल बैतडीसंग भौतिक संरचना हुँदाहुँदै पनि १५ शैय्यामा मात्रै सञ्चालन भइरहेको र यसलाई स्तरोन्नती गर्नेतर्फ सरकारले ध्यान दिएमा जिल्लाबासीका लागि सहज हुने अध्यक्ष भट्टले बताइन्।

नेपाली कांग्रेसकी नेतृ कान्ता चन्द र व्यवस्थापन समिति अध्यक्ष भट्टले सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। सामाजिक विकास मन्त्री मेघराज खड्का आफूहरुका मागप्रति सकारात्मक रहेका अध्यक्ष भट्टले बताइन्।

सगुनखबर

Leave A Reply

Your email address will not be published.