बैतडी : नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले गत बर्ष समयमै विद्युत महसुल नबुझाउने ६ सय ९२ ग्राहकको लाइन काटेको छ। लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए।
६ सय ९२ ग्राहकको लाइन काटेर ५६ लाख ३४ हजार ५८३ रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए। ९३ ओटा सरकारी कार्यालय, ३ ओटा पार्टी कार्यालय र अन्य ५ सय ९६ ग्राहकको लाइन काटिएको थियो।
लाइन काटिएका मध्ये महसुल बुझाउने ४ सय ९९ ग्राहकको लाइन फेरि जोडिएको छ भने लाइन काटेर पनि महसुल नबुझाउनेहरुको लाइन जोड्न बाँकी रहेको उनले बताए। नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ भएको ६० दिनभित्र महसुल तिरिसक्नुपर्ने व्यवस्था गरेको छ। विद्युत महसुल समयमा बुझाउन समेत आफूहरुले ग्राहकहरुलाई आग्रह गर्ने गरेको प्रमुख पौडेलले बताए।
बैतडीको जस्तो पहाडी जिल्लामा लामो समयदेखि संकलन हुन नसकेको विद्युत महसुल संकलनमा महत्वपूर्ण योगदान पुर्याएकाले कार्यालय प्रमुख पौडेल सम्मानित समेत भएका छन्। नेपाल विद्युत प्राधिकरणको ३९ औं बार्षिकोत्सवकको अवसरमा उनलाई नगदसहित उत्कृष्ट कार्य प्रशंसा पत्र प्रदान गरिएको हो।
चालु आर्थिक बर्षमा पनि समयमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेर महसुल असुल गरिने कार्यालय प्रमुख पौडेलले बताए।