गौरा पर्वको चलह-पहल शुरु, भदौ १० गते ‘अठ्यावाली’ मनाईदैँ
बैतडी : सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको चलहपहल शुरु भएको छ। गौरा मनाउन छिमेकि मुलुक भारत लगायत घरबाहिर रहेकाहरु यतिबेला जन्मथलो फर्किरहेका छन।
गौरा र महेश्वरको पूजाआजा गरी मनाइने गौरा पर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली भदौ १० गते परेको छ। गौरा कुनै ठाउँमा भदौ ७ गते र कुनै ठाउँबाट भदौ ८ गतेबाट मनाउने तयारी समेत भएको छ। गौराको शुरुवात गर्ने बिरुडापञ्चमी भदौ ७ र ८ गते परेकाले दुवै दिन बिरुडा भिजाउन सकिने ज्योतिषहरुले बताएका छन।
यो बर्ष भदौ कृष्ण पक्षमा गौरा परेकाले यो गौरालाई अँधेरी गौरा तथा काली गौरा समेत भन्ने गरिएको अठोला पञ्चाङ्गका ज्योतिष डिल्लीराज जोशीले बताए। भदौ ८ गते गौरा शुरु गर्ने ठाउँमा भदौ ९ गते बिरुडा धुने र गौरा भित्र्याइने उनले बताए।
भदौ ७ गतेबाट गौरा शुरु हुने ठाउँमा भदौ ८ गते बिरुडा धुने अर्थात नानी गौरा मनाउने तयारी छ भने भदौ ९ गते गौरा भित्र्याउने अर्थात ठूली गौरा मनाउने तयारी रहेको छ। गौरा पर्वको मुख्य दिन अठ्यावाली भने भदौ १० गते परेको ज्योतिषहरुले बताएका छन्। गौरापर्व उपासक महिलाहरुले पञ्चमीका दिनबाटै गौराको ब्रत लिने गर्दछन्।
पञ्चमी दिन ब्रतालु महिलाहरुले पाँच प्रकारका अन्न गहत, गुराउँस,गहुँ, मास र केराउलाई बिरुडाका रुपमा भिजाउने गर्दछन्। पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा तथा तलाउमा लगेर धुने प्रचलन रही आएको छ। षष्ठीका दिन ब्रतालु महिलाहरुले गौरा महेश्वरको गाथामा आधारित फागहरु गाउँदै गौराको पूजाआजा गर्ने चलन रही आएको छ।
यस्तै अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरुले गौराघरमा गौरा भित्र्याउने गरेका छन्। दिनभर ब्रत बसी साँझ गौराको पूजाआजा गर्ने चलन रही आएको छ। यही दिन ब्रतालु महिलाहरुले दुबधागो गौरामा चढाउनुका साथै सप्तमी धारण गर्ने परम्परा रही आएको छ। अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन समेत रही आएको छ।
गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौराघरबाट गौरा खलामा लगेर बिरुडाले गौराको पूजाआजा गर्ने गर्दछन्। दिनभरी अठ्यावाली गाउँदै उनीहरुले पूजाआजा गर्ने गर्दछन्।
अठ्यावाली सकिएपछि गौरादेवीको प्रसाद स्वरुप बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तहरुको टाउको पुज्ने चलन रही आएको छ।