बैतडी-बैतडीको मेलौली नगरपालिकाको जेसिवि मेसिन निर्माण कम्पनीलाई बिना सम्झौता प्रयोग गर्न दिइएको आरोप लागेको छ । वडा नं ७, ८ र ९ अन्तगरत पर्ने तिनजोन्ना–कोल्तडा सडक स्तरोन्नतीको लागि ३० लाख रुपैयामा ठेक्का सम्झौता भएको उक्त सडकमा निर्माण कम्पनीले मेलौली नगरपालिकासँग कुनै सम्झौता नगरी पालिकाको जेसिवि मेसिन प्रयोग गरिरहेको नेकपा एमाले मोलौली नगरकमिटिले आरोप लगाएको हो ।
गत वर्ष सडक बोर्डको ३० लाख बजेटबाट पालिकाबाटै ठेक्का खोलिएको थियो । महारुद्र निर्माण सेवाले ठेक्का पाएको थियो । नेकपा एमालेको मेलौली नगर कमिटिले एक ज्ञापनपत्र पेश गर्दै निर्माण कम्पनीले जिम्मा लिएको ठेक्काको काममा पालिकाको जेसिवि मेसिन प्रयोग गरिएको र उक्त जेसिवी प्रयोगको लागि पालिकासँग सम्झौता समेत नगरिएको पत्रमा उल्लेख गरिएको छ । मेलौली नगर कमिटिका अध्यक्ष भिमदत्त भट्टद्धारा हस्ताक्षरित पत्रमा, उक्त सडक स्तरोन्नतीको काममा समेत व्यापक त्रुटी भएको दावी गरिएको छ ।
समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई झन प्रोत्साहन गर्ने काम भइरहेको समेत विज्ञप्ती मार्फत आरोप लगाइएको छ।
मेलौली नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले पालिकाको जेसिवि मेसिन भाडामा दिएको बताएका छन् । यसअघि हुने गरेका विकास निर्माणका काममा निर्माण कम्पनीलाई पालिकाले जेसिवि मेसिन दिइदै आएको र सोही अनुसार उक्त योजनामा पनि जेसिवि मेसिन भाडामा उपलब्ध गराएको योजना शाखा प्रमुख बागले बताउनुभयो । लिखित सम्झौता नभएपनि निर्माणको जिम्मा लिएकाहरुसँग मौखिक सम्झौता बमोजिम जेसिवि उपलब्ध गराइएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले नगरपालिकाबाट खोलिएका ठेक्कामा निर्माण व्यावसायीहरुलाई मेसिन लगायतका उपकरणहरु भाडा दिइने गरिएको जानकारी दिनुभयो । त्यहा जेसिवि मार्फत भएको रकम पालिकाको राजस्वमा दाखिला गरिने पनि उनले बताए ।
नगर प्रमुख भिम बहदुर चन्दले यसअघि पनि यस्ता काममा दिइदै आएको र यसवाफत आउने राजस्व पालिकामा जम्मा हुने बताए । यसअघिका कामहरुमा पनि मौखकरुपमा मेसिन गायतका उपकरण दिइदै आएको बताउनुभयो ।
उक्त योजनाको जिम्मा वडा नं ५ का वडा अध्यक्ष समेत रहेका भरत सिंह पुजाराले लिएको बुझिएको छ ।
