बैतडीमा थप पाँच जनामा डेंगी संक्रमण पुष्टि

बैतडी: पाटन नगरपालिका-५ बसन्तपुरको कद्वारमा डेंगीको संक्रमण फैलिएको छ। यसअघि सो ठाउँका ४ जनामा डेंगीको संक्रमण पुष्टि भएकोमा सोमबार थप पाँच जना डेंगीका बिरामी भेटिएको छन्।

सो क्षेत्रबाट शंकास्पद ७ जनाको रगतको नमूना संकलन गरि परिक्षण गर्दा ४ जनामा डेंगीको संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए। कद्वारमा अहिले डेंगीका बिरामीको संख्या ९ पुगेको छ।

गाउँमा एकैपटक १५/१६ ज्वरो आएको र ४ जनामा डेंगीको संक्रमण पुष्टि भएपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले नगरपालिकाको ५ बसन्तपुर कद्वारमा पुगेर आज नमूना संकलन गरेको उनले बताए। यस्तै सोही ठाउँका थप एक जनाको पाटनमा रहेको डिएस पोलिक्लिनिकमा डेंगुको संक्रमण पुष्टि भएको छ। आफैँ डिएस पोलिक्लिनीकमा उपचारका पुगेका ति व्यक्तिमा समेत डेंगीको संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भट्टले जानकारी दिए।

सो क्षेत्रबाट उपचारका लागि डडेल्धुरा अस्पतालमा समेत गएकाले डेंगीका बिरामीको संख्या थप बढ्न सक्ने बताइएको छ। एउटै गाउँका एकै पटक ४ जनामा डेगुको संक्रमण पुष्टि भएको र गाउँमा रुघाखोकी लगायतका बिरामीहरु भेटिएपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रको टोली सो क्षेत्रमा नमूना संकलन तथा लामखुट्टेको फूल पार्ने ठाउँ खोज्ने र नष्ट गर्नका लागि आज खटिएको थियो।

यसैगरी एकै गाउँका नौ जनामा डेंगीको संक्रमण पुष्टि भएपछि प्राथमिक स्वास्थय केन्द्रले लामखुट्टेले फूल पार्ने ठाउँको खोजी गरी नष्ट गरेको छ। आज संक्रमण फैलिएको क्षेत्रमा स्वास्थ्यकर्मिको टोली पुगेर लार्भाको खोजी गरि नष्ट गरी स्वास्थ्य शिक्षाको जनचेतनामूलक कार्यक्रम पनि गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए।

Leave A Reply

Your email address will not be published.