बैतडीमा किशोरी बेपत्ता प्रकरणः ४ दिनपछि हवल्दार जोशीको नाममा किटानी जाहेरी

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया किशोरी बेपत्ता पारेको ४ दिनपछि किटानी जाहेरी परेको छ । गत शुक्रबार बिहान करिब ४ बजेदेखि बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन।
पञ्चेश्वर–२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशीको नाममा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो । ‘जाहेरी पुगेको छ, हामि प्रक्रियामा छौँ’ प्रहरी निरीक्षक ढुंगानाले भने ।

किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता बनाएको र उनको खोजी गरी पिडकमाथि कानुनी कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै जाहेरी दिएको किशोरीका आफन्तसँगै जिल्ला प्रहरी कार्यालयमा पुगेका पञ्चेश्वर–२का वडा अध्यक्ष बिर बहादुर चन्दले जानकारी दिनुभयो ।

किशोरी बेपत्ता हुनुमा आफन्तहरुले यसअघि नै हवल्दार जोशीकै संलग्ना रहेको दावी गर्दै आएका छन् । केही आधारहरु पनि भेटिएका थिए । किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितका केही विवरणहरुपनि प्रहरीसमक्ष बुझाइसकेका छन् ।

यसैगरी सोही दिन पनि किशोरी बेपत्ता भएपछि हवल्दार जोशी भारतपट्टीबाट भाग्दै गरेको अवस्थामा भेटिएपछि स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।

आरोपित प्रहरी हवल्दार जोशीले प्रहरी समक्ष किशोरी बेपत्ता पार्नुमा आफ्नो संलग्नता नरहेको दावी गर्दै आएका छन् । किशोरी बेपत्ता भएपछि खोज तलासमा गएको र सोही क्रममा आफुलाई नै आरोप लगाउन थालेपछि भारतीय बाटो भएर जिल्ला प्रहरी कार्यालयमा आउन खोज्दा स्थानीयले नियन्त्रणमा लिएको बताइका छन् ।

किशोरीसँग चिनजान रहेको भने बताएका छन् । अन्य कुनै सम्बन्ध नरहेको दावी हवल्दार जोशीको छ । तर तस्बिर लगायतका केही प्रमाणहरु हेर्दा किशोरीसँग निकटको सम्बन्ध रहेको बुझिएको छ ।

किशोरी बेपत्ता भएको ४ दिन पुरा भइसक्दा पनि फेला पर्न सकेकी छैनन् । आफन्तहरुले किशोरीको अवस्था समेत पत्ता नलगाउन सकेको भन्दै आक्रोसीत बनेका छन् । किशोरी कुन अवस्थामा छिन् भन्ने समेत थाहा नहुनु निकै दुःखद भएको किशोरीका आफन्त प्रेम सिंह मंगोलाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले किशोरीको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको बताएका छन् । उक्त टोलीले पञ्चेश्वरतर्फ किशोरीको खोजी गरिरहेको उनले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!