बैतडी : टिम कोइनोडा गुरूखोला लायन्स बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग ९पिपिएल–४० को सुपर सिक्समा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा ग्वाल्लेक क्रिकेट क्लबलाई १९९ रनले हराएर गुरूखोला सुपर सिक्समा प्रवेश गरेको हो।
जितका लागि पाएको ३२२ रनको विशाल लक्ष्य पछ्याएको ग्वाल्लेक २० ओभरमा ४ विकेटको क्षतिमा १२३ रन मात्रै बनाउन सक्यो। उसका सुर्या जोशीले अविजित ५१ रनको पारी खेलेपनि जितका लागि पर्याप्त हुन सकेन।
गुरूखोलाका भुपेन्द्र चन्दले २ र महेश भट्टले १ विकेट लिए। यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गुरूखोलाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ३२१ रन बनायो । यो प्रतियोगिताकै तेस्रो उच्च स्कोर हो। यसअघि शहस्त्रीलिंग क्रिकेट क्लबले ३५९ र पञ्चेश्वर गाउँपालिकाले ३२७ रन बनाएको थियो।
गुरूखोलाका लागि तीन ब्याटरले अर्धसतक प्रहार गरे। आकाश चन्दले अविजित ८५,लोकेश चन्दले ७१,निराजन गौतमले ७१ रनको योगदान गरे। ग्वाल्लेकका सुनिल जोशीले २ विकेट लिए।
गुरूखोलाका आकाश चन्द म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताउनुभयो। पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ। सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो। द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो।