बैतडी: मेलौली लगायत बैतडीका किसानहरु गहुँ छर्नमा व्यस्त रहेका छन्। लेकाली क्षेत्रमा किसानहरुले लगभग गहुँ छरिसकेका छन् भने बेँसी क्षेत्रमा मंसिर दोश्रो साता सम्म गहुँ छर्ने गरिएको छ।
खेतलाई खनजोत गरेर गहुँ छर्ने तयारी भइरहेको मेलौली नगरपालिका–०८ कोटिगाँउका किसान जगन राम लुहारले बताउनुभयो। सिँचाइको सुविधा नभएका ठाउँमा गहुँ छर्ने कार्य भइरहेको उनले बताए। ‘चिसो ठाउँमा कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य शुरु भएको छ। किसानहरु अहिले गहुँ छर्ने कार्यमा व्यस्त रहेका छन्।’
लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको किसानहरुले बताएका छन। कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य शुरु भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको छ।
गहुँ छर्दा पहिला खेतलाई खनजोत गरेर गोबरमल हालेर छर्नुपर्ने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए। कतिपय ठाउँमा गहुँ छरेपछि मात्रै गोबरमल हाल्ने चलन रहेकाले त्यो गहुँका लागि उपयुक्त नभएको उनले बताए। गोबरमललाई माटोमा मिसाएपछि गहुँ छर्न उपयुक्त हुने चौधरीले बताए। गहुँ छरेपछि गोबरमल हालेमा त्यसमा भएको तत्व नष्ट हुने भएकाले गहुँ छर्नुभन्दा पहिला गोबर मल हाल्नुपर्ने उनले बताए।
गहुँ छर्दा उन्नत जात र सुख्खा सहन सक्ने जातको बीउ प्रयोग गर्दा उपयुक्त हुने चौधरीले बताए। बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढी प्रयोग भइरहेको र त्यही उपयुक्त हुने उनले बताए।
बैतडीमा १५ हजार ४ सय हेक्टर क्षेत्रफमा गहुँ खेती गरिने भएपनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको छ ।