‘खोलेइ जाँत’ का नामले परिचित जगन्नाथ मेला मंसिर ३ गते

डडेल्धुरा-जगन्नाथ देवताको मन्दिरमा लाग्ने (खोलेइ जाँत) मंसिर ३ गते हुने भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका–३ र ४ मा रहेको प्रसिद्ध धार्मिक स्थल जगन्नाथ देवताको मन्दिरमा खोलेइ जाँत मेला मंसिर ३ गते लाग्ने भएको हो।

जगन्नाथ मन्दिरमा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। मंसिर २ गते रतेडी र ३ गते दिसेडी हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टले जानकारी दिनुभयो ।

गुनपाल, चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’ आएर मेला सुरु हुनेछ। पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गर्नेको बिहानैदेखि भक्तजनको भिड लाग्छ।

‘खोलेइ जाँत’ को रूपमा मानिने यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन्। साथै संरक्षणका साथ तोकिएका चार किल्लाहरू पूर्वमा राउत कट्टे, पश्चिममा चिपुर न्वाउलो हाटपाट न्वाउलो, उत्तरमा माहर गडो हल्कुडा र दक्षिणमा खिरे चौतारा मणिलेक भित्र कसैले गैरकानुनी काम गरेको वा गराइएको पाइएमा जरिवाना गरिने क्लबका अध्यक्ष भट्टले बताउनुभयो ।

रक्सी बेचेमा १० हजार, रक्सी सेवन गरेको पाइएमा ५ हजार, जुवा तास खेलाएमा १० हजार, गाडीमा रोडमै सामान बेच्नेलाई २ हजार र गाडी मोटरसाइकल पार्किङ स्थलभन्दा अगाडि लिएमा समेत जरिवाना गरिने उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.