नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुग्नुभएको छ। उहाँ सोमबार बेलुकी जिल्ला सदरमुकाम पुग्नुभएको छ।
चुनाव जितेको दुई वर्षपछि जिल्ला फर्किएका देउवालाई जिल्ला सदरमुकाममा बाजागाजासहित सो पार्टीका नेताकार्यकर्ताले स्वागत गरे। यसअघि चुनाव जितेपछि जिल्ला नफर्किने देउवा यसपटक चुनाव जितेको दुई वर्षपछि जिल्ला आउनुभएको हो।
देउवा जिल्ला आउने भएपछि सदरमुकाम क्षेत्र र उहाँले भ्रमण गर्ने ठाउँमा व्यापक सरसफाइ गरिएको छ। उहाँ २०७० पछि पहिलोपटक सडक मार्ग भएर भ्रमण गरिरहेका छन्। २०७४ र ०७९ को निर्वाचनमा उहाँ हेलिकोप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो।
सोमबार बिहान जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल र परशुरामधामको दर्शन गरेका देउवा बेलुकी जिल्ला सदरमुकाम फर्किनुभएको छ। उहाँ मंसिर १ गतेसम्म जिल्लामा बस्ने कार्यक्रम छ। यहाँ रहँदा उहाँ धार्मिक र पार्टीका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।
जिल्ला सभापति भीमबहादुर साउदका अनुसार सभापति देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुने र कात्तिक २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ।
सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा कार्यकर्तासंग भेटघाट र मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने जनाइएको छ।