बैतडी–बैतडीको मेलौली नगरपालिका –१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ ।कार्तिक शुक्ल चतुर्दशी हिजोबाट यी मन्दिरमा जात्रा शुरु भएकोमा आज कार्तिक शुक्ल पूर्णिमका दिन पशु बलि सहित जात्रा सम्पन्न भएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश नायकले बताउनुभयो ।
जात्राको अवसरमा ६१ राँगा र ७६ बोकाको बलि चढाईको उनले बताउनुभयो ।मेलौली भगवती जात्राको अवसरमा घोडा दौड, देउडा लगायतका कार्यक्रमहरु समेत सञ्चालन भएको नायकले जानकारी दिनुभयो ।जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको थियो ।
मेलामा यो बर्षपनि हजारौं दर्शनार्थीहरुले दर्शन गरेको मेलौली भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेलौली मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा ‘देहीजात’ भन्ने चलन रही आएको छ ।
यो जात्रामा टाढाटाढा बाट समेत दर्शनार्थीहरु आउने गरेका मेलौली धार्मिक सेवा समितिका संयोजक दशरथ सिंह नायकले बताउनुभयो ।
यो जात्रामा स्थानीय कृषि उपजहरुले राम्रो बजार पाउने गरेका छन् । स्थानीय किसानहरुले उत्पादन गरेका केरा, सुन्तला, अदुवा लगायतका कृषि उपजहरुको यो जात्रामा राम्रो विक्रिवितरण हुने गरेको मेला व्यवस्थापन समिति अध्यक्ष चिन्ता सिंह विष्टले जानकारी दिनुभयो ।