बैतडी: स्वास्थ्य कार्यालय बैतडीले योग कक्षा सञ्चालन गर्न थालेको छ। स्वास्थ्य कार्यालयले आयोजना गर्ने प्रत्येक तालिम तथा कार्यक्रमहरुमा योग कक्षा गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए।
नसर्ने रोग र मानसिक समस्याहरु बढ्दै गएकाले स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने प्रत्येक कार्यक्रमहरुमा सहभागी स्वास्थ्य कर्मचारीहरुका लागि योग कक्षा सञ्चालन गरिने उनले बताए। स्वास्थ्यले जिल्लामा आयोजना गर्ने प्रत्येक कार्यक्रमहरुमा ति स्वास्थ्य कर्मचारीहरुलाई योगमा सहभागी गराउने र त्यसपछि उनीहरुले आफू कार्यरत स्वास्थ्य संस्थामा योग कक्षा सञ्चालन गर्ने गरि तयारी थालिएको प्रमुख भट्टले जानकारी दिए।
पतञ्जली योग समिति शाखा कार्यालय बैतडीसंगको समन्वयमा स्वास्थ्यका हरेक कार्यक्रममा योग कक्षा र योगाभ्यास शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए। पछिल्लो समयमा नसर्ने रोग र मानसिक समस्याहरु बढ्दै गएकाले यस्ता समस्याहरुको समाधानका लागि योग प्रभावकारी उपाय भएकाले योगाभ्यास र योग कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए।
नसर्ने रोग तथा मानसिक समस्याहरुबाट मुक्ति पाउन औषधिमात्रै पार्याप्त नभएकाले रोग लाग्न नदिन र लागेका रोगहरु नियन्त्रणका लागि योग प्रभावकारी माध्यम भएको भट्टले बताए। स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने हरेक कार्यक्रममा योगलाई प्राथमिकता दिएर नौलो अभ्यास शुरु गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।
पछिल्लो समयमा बैतडीमा पनि योगको लहर चलेको र योगका माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन सकिने भएकाले योगको लहर चलेको पतञ्जली योग समिति शाखा बैतडीले जनाएको छ।