बैतडी : कुनै समय बैतडी सहित सुदूरपश्चिमका बिभिन्न गाउँबस्तिमा हुने विवाह, व्रतबन्ध पार्टी र विशेष समारोहलगायतका अन्य शुभकार्यमा मसकबिन बाजा सहजै सुन्न पाईन्थ्यो। हरेक ठाउँमा धेरै माग हुने मसकबिन बाजा समय फेरीएसगैँ पछिल्लो समय लोपन्मुख अवस्थामा छ।
वल्लो गाउँबाट पल्लो गाउँ र टाढाबाट पनि स्पष्ट रुपमा सुन्न सकिने मसकबिन बाजाप्रति मान्छेहरुको रुचि घट्दै गएको दोगडाकेदार गाउँपालिका–०४ खम्तोली बैतडीका ललित महर बताउछन। मेलौलीको ओझीगाँउबाट शिवनाथ खडिकको विहेमा आएका मसकबिन बाजा बाद्यक महर भन्छन, “परम्परागत भाका र देवीदेवताका गाथाहरु झल्कने धुनहरु मनै लोभ्याउने गरी बजाइन्थ्यो तर अहिले मसकबिन बाजा धेरै कम मात्रामा पाइने गरेको छ।”
विदेशी बाजाहरुको माग र पछिल्लो पुस्ताको विदेशी बाजाप्रतिको आकर्षणले गर्दा मसकबिन बाजा लोप हुँदै गएको स्थानीय संस्कृतिका जानकार एवं शिक्षक विरुवा राम लुहारले बताउनुभयो। दमाह, झ्याली, छलियासगैँ मसकबिन बाजा बजाउँदाको आनन्द छुट्टै हुन्थ्यो तर अहिले बजाउने मान्छे पनि पाउन मुश्किल भएको छ, उहाँले भन्नुभयो। मेलौलीका डम्वर ओझाले आफ्नो विहेमा बोलाएका मसकबिन बाजा बाद्यक महरले मसकबिन बजा बजाउनदाँ पुरानो समयको याद आएको लुहारले स्मरण गर्नुभयो।
पहिला पहिला सानो कार्यमा पनि मसकबिन बाजाको माग हुने गरे पनि अहिले त्यो बाजाप्रति कसैको ध्यान गएको देखिदैन। स्थानीय देखी केन्द्र सरकारले स्वदेशी बाजाहरुको संरक्षण र संवद्र्धनमा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्ने स्थानीय संस्कृतिका जानकारहरुको भनाई रहेको छ।
मसकबिन बाजा खास गरी दलित समुदायले ब्यक्तिहरुले बजाउने गर्दछ। दलित समुदायका ब्यक्तिहरुले मात्र यो बाजा बजाउनु पर्छ भन्ने धारणा त्यागेर जुनसुकै समुदायले पनि बजाउन सकिने स्थानीय बुद्धिजिवीहरुको धारण रहेको छ।