बैतडीमा कांग्रेसको वडा सम्मेलन मेलौलीबाट शुरु

बैतडीमा नेपाली कांग्रेसले वडा सम्मेलन शुरु गरेको छ । जिल्लाको मेलौली नगरपालिकाका वडाबाट वडा सम्मेलन शुरु गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।

नेपाली कांग्रेसको विधान अनुसार जिल्ला कार्यसमितिले निर्णय गरेर वडा सम्मेलन शुरु गरिएको सभापति चन्दले बताए। शुक्रबार मेलौली नगरपालिका वडा नं २ र ३ मा वडा सम्मेलन सम्पन्न गरेको कांग्रेसले आज वडा नं ५ र ६ मा वडा सम्मेलन गरिरहेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष दिपेन्द्र ढुंगालले बताए।

नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउन, क्रियाशील सदस्यता वितरण गर्न र पार्टीलाई विधान अनुसार अगाडि बढाउन वडा सम्मेलन तय गरिएका उनले बताए। सम्मेलन अन्तर्गत पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीमा नयाँ सदस्यहरुलाई आबद्ध गराउने, नेपाली कांग्रेसको नीति र विधानको बिषयमा जानकारी दिने, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत २०४८ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका र ७० बर्ष पुगेका नागरिकलाई सम्मानपत्र प्रदान गर्ने गरिएको नेविसंघ अध्यक्ष ढुंगालले बताए। वडा सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पार्टीको संगठन विस्तारका लागि आफूहरु सक्रिय रहेको बताए । पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू लचकताकासाथ अघि बढीरहेको बताए ।

यस्तै पार्टीलाई चलायमान बनाउन सबैको सहयोग आवश्यक रहेको सभापति चन्दले बताए। वडा सम्मेलनमा सभापति चन्दकासाथै पार्टीका प्रदेश समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको छ। बैतडीका ८४ ओटै वडामा आगामी फागुनभित्र वडा सम्मेलन गरिसक्ने लक्ष्य राखिएको छ भने त्यसपछि १० ओटै पालिकामा पालिका सम्मेलन गरिने नेविसंघ अध्यक्ष ढुंगालले बताए।

Leave A Reply

Your email address will not be published.