नेपाल पत्रकार महासंघ शाखा बैतडीको नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार सम्पन्न महासंघ बैतडीको आठौं अधिवेशनले पत्रकार नरी बडूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन भएको र अन्य पदमा निर्विरोध पदाधिकारी र सदस्यहरु चयन भएका निर्वाचन समितिले जनाएको छ। शुक्रबार भएको मतदानबाट ३९ मत प्राप्त गर्दै बडू अध्यक्षमा निर्वाचित भएका हुन् भने २४ मत प्राप्त गर्दै करुणाकर भट्ट कोषाध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै महासंघको खुला उपाध्यक्षमा लक्ष्मण बिसी, महिला उपाध्यक्षमा रतना कलौनी, सचिवमा विनोदसिंह बिष्ट, सहसचिवमा केशवराज भट्ट र समावेशी सहसचिवमा मंगेश दयाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक नरेन्द्र भट्टले बताए। यस्तै ९ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका उनले बताए।
आगामी ३ बर्षका लागि चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई आज निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गरिएको छ। उनीहरुले आजै पद तथा गोपनीयताको शपथ समेत ग्रहण गरेका छन्।