बैतडी: जगली बँदेलका लागि थापेको पासोमा परेको चितुवा भाग्यो

बैतडीमा पासोमा परेको चितुवा भागेको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौँ कुमालीगाड भन्ने स्थानमा जंगली बँदेलका लागि थापेको पासोमा परेको चितुवा भागेको हो।

सोमबार राति पासोमा फसेको चितुवा मंगलबार राति पासो चुँडालेर भागेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरत प्रशाद भट्टले जानकारी दिए। पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आएको भएपनि मंगलबार रातीपछि पासो चुँडालेर चितुवा भागेको उनले बताए।

त्यो क्षेत्र बरिपरि घाइते चितुवालाई खोजेपनि नभेटिएको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ। पासोमा परी घाइते भएको चितुवाको घाँटीको भागमा चोट छ। चितुवा घाइते भएको हुनाले स्थानीयबासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए।

जिल्लामा स्थानीयहरुले थापेको पासोमा चितुवा परेर घाइते हुने क्रम बढेको छ। पासोमा परेका चितुवाको समयमा उद्धार हुन नसक्दा पासो नै चुँडाएर भाग्ने समेत गरेका छन्। पासोमा परि तथा अन्य कारणले घाइते भएका जनावरहरुको उद्धारका लागि दक्ष जनशक्ति नहुँदा समस्या हुने गरेको डिभिजन बन कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको उद्धार टोलीले नै सबै क्षेत्रमा खटिने गरेको छ। रेस्क्यु सेन्टर स्थापनाका लागि डिपिआर गर्न मन्त्रालयबाट बजेट बिनीयोजन भैसकेकाले स्थान खोज्ने काम भैरहेको बताइएको छ।

सबै पहाडी जिल्लाका लागि पायक पर्ने गरि ठाउँ खोज्ने काम भैरहेको हो। यसअघि गएको असोज १२ गते बैतडीको दशरथचन्द नगरपालिका-१ खालमा पनि पासोमा परेको चितुवा पासो चुँडालेर भागेको थियो।

Leave A Reply

Your email address will not be published.