डडेल्धुरामा पुस १४ देखि अन्तर पालिकास्तरीय महिला भलिबल हुदैँ

डडेल्धुरामा सुदूरपश्चिम प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। शुक्रबार संघले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रतियोगिता यहीँ पुस १४ देखि १६ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिए। प्रतियोगितामा सुदूरपश्चिमका ८८ स्थानीय तहको सहभागी रहने आयोजनाको अपेक्षा छ। ग्रामीण क्षेत्रमा रहेका महिला खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउन सक्ने बनाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको भलिबल संघका अध्यक्ष ठगुन्नाले बताए।

‘ग्रासरूटबाटै खेलाडी उत्पादन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले हामीले यो प्रतियोगिता गर्न लागेका छौँ,’ उनले भने, ‘यस्ता किसिमका प्रतियोगिताले स्थानीयस्तरमा रहेका प्रतिभावान् खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर पनि हो।’ अध्यक्ष ठगुन्नाले सुदूरपश्चिमका सबै स्थानीय तहलाई आफ्नो पालिकाको टिम पठाएर सहयोग गरिदिन आग्रह गरे।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। यस्तै द्वितीयले ५१ हजार १११ रुपैयाँ र तृतीयले २५ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

यसका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ। यसैगरी बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर र राइजिङ प्लयेरलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिने जनाइएको छ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिताका लागि सुदूरपश्चिम खेलकुद परिषद्ले पाँच लाख दिने र बाँकी दुई लाख जिल्ला भलिबल संघले व्यहोर्ने संघका अध्यक्ष ठगुन्नाले जानकारी दिए। उनका प्रतियोगिताका खेलहरू अमरगढी नगरपालिका-७ पोखरास्थित उग्रतारा माविको खेल मैदानमा हुनेछन्।

टिम दर्ता निस्शुल्क रहेको छ।

Leave A Reply

Your email address will not be published.