प्रधानमन्त्री कप महिला क्रिकेट छनौट प्रतियोगितामा बैतडी फाइनल प्रवेश

बैतडी: प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगितामा बैतडी फाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो जित दर्ता गरेर बैतडी फाइनलमा सुरक्षित भएको हो।

पहिलो खेलमा अछामलाई १० विकेटले हराएको बैतडीले दोस्रोमा डोटीमाथि १५० रनको फराकिलो जित निकाल्दै उपाधि नजिक पुग्यो। बैतडी समूह बी को विजेता बन्दै फाइनलमा पुगेको हो। उपाधिका लागि बैतडीले अब समूह ए को विजेतासंग खेल्नेछ। समूह ए का खेलहरू सोमबारदेखि हुनेछन्

बैतडीले दिएको १८७ रनको लक्ष्य पछ्याएको डोटी ११।२ ओभरमा ३६ रनमा समेटियो। जसमा अन्जली खड्काले सर्वाधिक १५ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा बैतडीका कप्तान रितु कनौजियाले ५, करिश्मा थापाले ३ , निर्मला रावलले २ विकेट लिइन् ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८६ रन बनायो । जसमा रितु कनौजियाले ४५,ममता बोहराले ३४,करिश्मा थापाले २१ रनको योगदान गरिन् । डोटीका लागि जानकी मलासी र गौरी सापकोटाले ३र३ विकेट लिए।

बैतडीकि रितु प्लेयर अफ द म्याच भइन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजना पुस १९ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताउनुभयो।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ।

Leave A Reply

Your email address will not be published.