बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई ‘उपमेयरको कोसेली’ वितरण गर्न थालेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुमा बच्चा जन्माएका आमाहरुलाई कोसेली दिन थालिएको बताए।
घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि कोसेली दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको उपप्रमुख कौशिला चन्दले बताइन् । ‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ।
यो वर्ष पालिकाभरका ४७५ जना सुत्केरी आमाहरुलाई ‘उपमेयरको कोसेली’ वितरण गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। पूर्ण संस्थागत सुत्केरी नगरपालिका बनाउने लक्ष्यसहित ‘उपमेयरको कोसेली’वितरण गर्ने गरिएको बताइएको छ।