प्रधानमन्त्री कप टि-२० महिला राष्ट्रिय क्रिकेट: एपिएफको विजयी सुरुआत

विभागीय टोली एपिएफले प्रधानमन्त्री कप टि-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आज सम्पन्न खेलमा ममता चौधरी र कप्तान इन्दु बर्माको अविजित अर्धशतकीय इनिङ्ससँगै साबिक विजेता एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हरायो।

एपिएफले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको साबिक उपविजेता कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो। जसमा दिक्क्षा पुरीले सर्वाधिक १७ रन बनाइन्। रमा बूढाथोकी १० रनमा आउट हुँदा गौरी बोहराले अविजित १० रन बनाइन्।

एपिएफकी करूणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन्। रेखा रावल, सुमना विष्ट र बिनु बूढाको नाममा समान एक विकेट रह्यो। त्यसअघि धनगढीस्थित फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले २० ओभरमा एक विकेट गुमाउँदै १८२ रन बनायो। ओपनर राजमती ऐरी २२ रनमा आउट भए पनि ममता र इन्दुले दोस्रो विकेट लागि १५८ रनको विशाल साझेदारी गरे।

६६ बलमा १० चौकासहित ममता ७८ रनमा अविजित रहिन्। इन्दुले ३४ बलमा सात चौकासहित ५२ रन बनाइन्। कर्णालीकि दीक्षा पुरीले १ विकेट झारिन्। एपिएफकी ममता चौधरी प्लेयर अफ द म्याच चुनिइन्।

आजै भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो।

Leave A Reply

Your email address will not be published.