बैतडीमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप लगाइने

बैतडीका १३ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ। यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

विद्यालयमै खोप केन्द्र स्थापना गरेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए। उनले १० वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए। विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनले बताए।

जिल्लाभरि विद्यालय जाने १३ हजार २ सय ६३ र र विद्यालय नजाने ३ सय १ गरी जम्मा १३ हजार ५ सय ६४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए।

जिल्लाको दशरथचन्दमा १४ सय ८७, पाटनामा १५ सय २३, मेलोलीमा ११ सय ६३ र पूर्चौडी नगरपालिकामा २३ सय ६६ किशोरीलाई खोप लगाइने छ । यस्तै पञ्चेश्वर ९ सय ९०, शिवनाथ एक हजार २, सुर्नया १ हजार ८४, शिगास ११ सय ६०, डिलाशैनी १३ सय १४ र दोगडाकेदार गाउँपालिकाका ११ सय ७४ किशोरीलाई खोप दिइने आईतबार जिल्ला सदरमुकाम गढीमा आयोजित खोप समन्वय समिति र सञ्चारर्कीसंगमार्फत जनाएको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष खगेन्द्र धामीले बताए । किशोरीलाई खोपबाट वञ्चित हुन नदिन प्रचारप्रसार र समाचारका माध्यमबाट सञ्चारमाध्यमले समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।

खोप अभियानलाई सफल बनाउन सबैले सहयोग र समन्वय गर्नुपर्ने भन्दै अभिभावकलाई आफ्ना छोरीलाई खोप लगाउन सम्बन्धित केन्द्रमा पठाउन आग्रह गरे । उनले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । किशोरीलाई लगाइने पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको खोपमा स्थानीय तहमा अभिमुखीकरण गरिएको छ ।

खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले जिल्लाभर स्वास्थ्यकर्मी र स्वयंम्सेवक परिचालन गरिने जनाएको छ । स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ । वडासम्ममा खोप समन्वय समितिका बैठक राख्ने तयारी भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.