बैतडीको मैलौलीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विशालपुर मावि रोकटाले जितेको छ । विशालपुर १२ स्वर्ण, ५ रजत र १ कास्य पदकसहित प्रथम भएको छ।
यस्तै मणिलेक मावि काडाँ दोस्रो भएको छ। मणिलेक माविले १० स्वर्ण, ८ रजत र ५ कास्यपदक हात पार्दै उपबिजेतामा चित्त बुझाएको छ। यसैगरी जगदम्वा मावि हतरङ्गाले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक हात पार्दै तृतीय भएको नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर भण्डारी (सागर)ले जानकारी दिनुभयो।
विजेता विद्यालयलाई मेलौली नगरपालिकाका प्रमुख भिमबहादुर चन्द, प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्द, नगर खेलकुद समितिका अध्यक्ष भण्डारी लगायतले पुरस्कार वितरण गर्नुभएको छ। माघ ११ गतेदेखि शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो।
प्रतियोगितामा नगरभित्रका १२ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ।
गत वर्ष सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधिको मणिलेक माविले जितेको थियो। प्रतियोगिता समापनको दिन बिभिन्न सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए।